काठमाडौं, पुस १२ -‘तिमीलाई जुन दिन्छु भन्दिन
तारा दिन्छु पनि भन्दिन
हिरामा माया मिलाई
मोतीको हार दिन्छु भन्दिन’
दाँत सबै झरी सकेका, काधमा रेडियो भिरेका शिरमा फूल सिउरिएका मेरी बास्सैका मुस्कान पासा यी शब्दको साहारा लिएर आफ्नो प्रेम देखाउँदैछन् ।
सधैं फतौरी बुढीलाई जिस्काउन पल्केका मुस्कान पासाले यी शब्दहरु फतौरी बुढीलाई नभएर दिपाश्री निरौलाको लागि खर्च गरेका हुन् । कुनै फिल्मी हिरोले आफ्नी प्रेमिकासँग माया पिरतीको भावभंगी देखाए झैं पहेँलै फुलेको तोरी बारीमा उनी दिपाश्रीसँग छमछमी नाच्दैछन् ।
कहिले दिपाको हात समाउछन् त कहिले उनलाई अंगालोमा बेर्छन् । लाग्छ, उनी दिपाश्रीको माया प्रेममा चुर्लुम्म डुबेका छन् । बुढेसकालमा कम्मर मर्काई मर्काई नाचेका मुस्कान पासा तब झसंग पर्छन् जब फतौरी बुढीको चर्को आवाजले उनलाई झस्काँउछ । एकैछिनमा उनी वास्तविकतामा आउँछन, त्यो अघिको सबै चर्तिकला त सपना पो रहेछ ।
मुस्कान पासाले सपनामा दिपाश्रीलाई आफ्नो बनाएपनि बिपनामै उनीसँग इलु इलु गर्न दारी बुढा, मुलाको सागदेखि फसीलालसम्म आफ्नो तर्फबाट लागि परेका छन् । तितो सत्यबाट हराएका दिपकलाई खोज्दै दिपाश्री ठेचो गाविस मा भईरहेको मेरी बास्सैको सुटिङ स्पटमा पुग्दा उनलाई आफ्नो बनाउन सबैको तछाड मछाड नै हुन्छ ।
पुष २६ गते रिलिज हुने चलचित्र ६ एकान ६ को क्रस प्रोमोसन अन्तर्गत तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सैका कलाकारहरु एक अर्काको हाँस्यश्रंखलामा गएर अभिनय गरिरहेका छन् । चलचित्र प्रोमोसनको यो नौलो तरिकाको रुपमा पनि लिन सकिन्छ । मेरी बास्सैमा तितो सत्यकी दिपाश्रीको आगमनको दृश्य विहीबार छायांकन गरियो । ‘तितो सत्यको सुटिङ हामी सहरमै गर्छौं तर मेरी बास्सैको सुटिङ गर्न गाँउमा आउदा रमाईलो लागिरहेको छ’ दिपाश्रीले भनिन् ‘मुस्कान पासासँगको नृत्यको दृश्य सुटिङ गर्न रमाइलो भइरहेको छ ।’ पहेँलो फुलेको तोरीबारीको रमाईलो दृश्यले दर्शकहरुको मन जित्ने बताउँछन मेरी बास्सैका निर्देशक सिताराम कट्टेल । आफैं निर्देशक भएपनि सितारामले गीतको कोरियोग्राफीमा भने दिपाश्रीसँग खुबै सल्लाह गरे । ‘आज सुटिङ गर्दा सारै रमाईलो भयो’ नक्कली गिजा लागएर मुस्कान पासा बनेका सितारामले मुखबाट गिजा हटाउँदै भने, ‘क्यारेक्टरमा मज्जासँग डुबेर काम गर्ने भएकाले पनि दिपा दिदीसँग काम गर्दा खुब रमाइलो हुन्छ ।’ एक आपसमा हाँस्यकलाकारहरु मिलेर जाने हो भने नेपालमा हाँस्यब्यंग्यले सबैलाई बाध्न सक्ने बताउँदै दिपा भन्छिन्, ‘हामी एक अर्काका प्रतिस्पर्धी पनि हौं तर पनि हामी सबै मिलेर काम गर्छौं, यसरी नै देशका नेताहरु पनि मिल्ने हो भने देशले निकास पाउने थियो ।’ हाँस्यकलाकारहरु मिलेर बनाएको चलचित्र ६ एकान ६ ले पनि हाँस्यब्यंग्य श्रृंखलाले झै सबै दर्शकको मन जित्नेमा उनी विश्वस्त छिन् । चलचित्र ६ एकान ६ लाई दिपकराज गिरी, निर्मल शर्मा गैडा र दिपाश्रीले मिलेर बनाएका हुन् । चलचित्रको निर्देशन दिनेश डिसीले गरेका छन् भने चलचित्रमा दिपकराज गिरी, शिवहरी पौडेल, जीतु नेपाल मुन्द्रे, सिताराम कट्टेल धुर्मुस, केदार घिमिरे माग्ने बुढा, सन्दिप छेत्री, निता ढुंगाना लगायतका कालकारहरुको अभिनय रहेको छ । –अर्जुनकुमार संग्रौला
Disclaimer :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment